वीरगञ्जमा रात्रि बजारको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज महानगरपालिकामा यही चैत्र ३० गतेदेखि हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ ।

नयाँ २०८० को अवसर पारेर वीरगञ्ज महानगरपालिका कार्यालयको मुख्य आयोजनामा हुन लागेको रात्रि बजार चैत ३० गतेदेखि वैशाख २ गतेसम्म चल्नेछ । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउने विश्वासका साथ आयोजना हुने रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङलगायत काम अन्तिम चरणमा पुगेको महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।

रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा २४ सै घण्टा खुल्ने व्यवस्था मिलाइएको जानकारी दिदै  नगरप्रमुख सिंहले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने पनि बताए । यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उहाँहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने  उनको भनाइ छ ।
“यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौँ”, उनले भने , “यसले यहाँका व्यवसायी तथा आम नगरवासीले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएका छौँ ।” रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएकाले तीन दिनको स्टलको शुल्क रु एक हजार मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए ।

आदर्शनगर चोकदेखि कैलाश चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रि बजारमा सयभन्दा बढी थरिथरिका स्टल रहने उहाँले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल रहने छन् । रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहने उनले बताए ।

रात्रि बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर रात्रि बजारको लाभ उठाउन पनि नगरप्रमुख सिंहले सबैलाई आग्रह गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्