चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

Ad
  • कालोपाटी सम्बाददाता

विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ । यही अवधिमा सरकारको चालु खाता भने रु ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई रु पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोड बराबर मात्रै छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर रु सात ७ अर्ब रहेको थियो भने रु १६ अर्ब ३० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।

गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति आठ महिना अवधिमा १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्त सम्ममा रु १४ खर्ब एक अर्ब २१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १२ खर्ब ४४ अर्ब ९४ करोड र बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति रु १ खर्ब ५६ अर्ब २७ करोड बराबर छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०७९÷८० को आठ महिनाको आयातलाई आधार मान्दा अहिले बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव नौ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्