प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्  । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप लगाए । सांसद डा अमरेशकुमार सिंहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली नागरिकता पाउनबाट वञ्चित हुनु परेको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिता देवीले १७ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेकामा सबैभन्दा बढी दलित समुदाय बढी प्रभावित भएको बताए । सांसद योगन्द्र मण्डलले छ महिनाभित्र नागरिकताको समस्या समाधान गर्छु भनेर प्रधानमन्त्रीले बोल्नुभएको तर कहिले समाधान हुन्छ भनी प्रश्न गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले एक दैनिक पत्रिकाले दोहोरो राहदानी प्रयोग गरेको भन्ने समाचारमा आफ्नो नामसमेत मुछेको भन्ने समाचारप्रति गम्भीर आपत्ति प्रकट गरे । उनले सो समाचारका सम्बन्धमा ध्यानाकर्षण गराउँदै सत्य तथ्य कुराको मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

सांसद ताराप्रसाद लामाले कञ्चनपुरको बेलौरी छोटी भन्सार तत्काल चालु अवस्थामा ल्याउन आग्रह गरे । सांसद सञ्जय गौतमले सामुदायिक विश्वविद्यालय र विद्यालयमा विद्यार्थीको भर्ना सङ्ख्या घट्दै गएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरे ।

सांसद दयालबहादुर शाहीले विकास निर्माण गर्दा स्थानीय जनतालाई असर नपर्ने गरी बनाउनुपर्नेमा जोड दिए । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाली आमा र बाबुको सन्तानलाई नागरिकता दिन रोक्नुपर्ने कुनै आधार र कारण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सासंंद रुक्मणि बराइलीले चार महिनादेखि जनताको समस्याबारे सदनमा राखिरहेको तर संसद्मा राखेका कुरालाई सरकारले ध्यान नदिएकोप्रति ध्यानाकर्षण गराए । सांसद रामकृष्ण यादवले नेपाली नागरिक भएर पनि नागरिकताविहीन हुनुपरेको र राज्यका धेरै सुविधाबाट वञ्चित हुनुपरेको र यो समस्या विकराल बन्दै गएको बताउँदै तत्काल नागरिकतासम्बन्धी विधेयक ल्याउन माग गरे । साथै उहाँले मुलुकका धेरै स्थानमा पूर्वाधार निर्माणमा निर्माण व्यवसायीबाट लापरबाही भएकाले यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।-

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्