नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन्  । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा सङ्घर्षशील आवाजहरु नामक पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्नु हुँदै उहाँले नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त आदिवासी समुदाय भएको बताए ।

“जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य हुँदैन । राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्छ । धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ । विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो । समृद्धि र न्याय सहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो । मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ”, ओलीले भने , “देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्छ । राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनु हुँदैन । राजनीतिलाई झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन ।”

संविधानसभा सदस्य नजिर मियाँद्वारा लिखित सङ्घर्षशील आवाजहरु नामक पुस्तकका बारेमा धारणा राख्नुहुँदै अध्यक्ष ओलीले पुस्तकमा लेखकका असाधारण अनुभव, पारिवारिक व्यवहार, पार्टीगत काम, मुस्लिम इत्तेहाद सङ्गठनका प्रसङ्गवश सम्झिएका महत्वपूर्ण विषयवस्तुहरु पुस्तकमा रहेको बताए । उनले मियाँलाई अझ ज्ञानवर्द्धक अर्को पुस्तक प्रकाशन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । उनले विश्व राजनीतिमा धर्मका नाममा ठूलाठूला आन्दोलन भइरहेको उल्लेख गर्दै सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनुपर्ने बताए ।

विमोचित पुस्तकका लेखक संविधानसभा सदस्य नजिर मियाँले पुस्तकमा महामुली गाउँको खेती किसानी गरेको व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको बताए । “पुस्तकमा महामुली गाउँको खेती किसानी गर्ने व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको छु । मैले ७२ वर्षसम्म के मेहनत गरेँ भन्ने कुरा पुस्तकमा लेखेछु”, मियाँले भने ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको बताए । “पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । मुस्लिम समुदायको हितका लागि संविधानसभामा निर्वाह गरेको महत्त्वपूर्ण भूमिका पुस्तकमा छ । मुस्लिम समुदायलाई हिंसा प्रियका रुपमा चित्रित गरिँदा अत्यन्तै पीडामा परेको र उक्त समुदायले असुरक्षित महसुस गरेको छ”, ज्ञवालीले भने , “नेपालको बहुसांस्कृतिक समुदायलाई सम्मान गर्दै सबैलाई समेटेर जानुपर्ने आवश्यकता छ । व्यक्तित्व निर्माणका लागि प्रेरणा प्रदान गर्ने खालको पुस्तक छ । समुदायलाई माथि पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका नजिरले लेखेको पुस्तकमा यथार्थपरक विषयवस्तुहरु रहेको छ ।”

प्रकाशित पुस्तकमाथि टिप्पणी गर्नुहुँदै अग्रज पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचनको अवसरले राजनीतिक धार्मिक समन्वय, सुखद अवसर सृजना गरेको बताए । “अवसरविहीन अवस्था, समस्या र अभावबाट लेखन प्रारम्भ भएको पुस्तकमा पारिवारिक प्रेम र स्नेह व्यक्त भएको छ । इतिहासको अभिलेखमा राख्न योग्य छ । समुदायको आन्दोलनका लागि लागेका फरक राजनीति पृष्ठभूमिमा व्यक्तिहरुको अन्तरसङ्घर्ष पनि पुस्तकमा छ”, टिप्पणी गर्नुहुँदै दाहालले भने , “मान्छेको अनुभव नै सबैभन्दा ठूलो विश्वविद्यालय हो । गाउँदेखि संसद्सम्म खेल्नुभएको भूमिकाको उल्लेख भएको छ । पुस्तकमा अभिव्यक्त कुराहरुका आधारले राष्ट्रिय भावनाले ओतप्रोत छ ।” उनले मान्छेको जीवनसँग जोडिएका कुराहरु पार्टी र धर्मभन्दा माथि हुन्छ भन्नेमा जोड दिए ।

तस्बिर : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्