नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

Ad
  • कालोपाटी सम्बाददाता

नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

तर प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलहरुले नागरिकता विधेयकको कुरा उठाएर संसद् अवरोध गरेका हुन् । नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रियाअनुसार नागरिकता विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने र त्यसलाई एक हप्ताभित्रै पारित गर्न सक्नेगरी संसद् चलाउनुपर्ने बताए ।

“प्रमाणिकरण गरिएको भनिएको नागरिकता विधेयक निष्क्रिय राखियोस् । नयाँ संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरियोस् र एक हप्ताभित्र घनीभूत ढङ्गले छलफल गरेर नागरिकताबिहीनलाई नागरिकता दिने प्रबन्ध गरियोस”, गिरीले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता दिनु राज्यको दायित्व भए पनि नागरिकता विधेयक प्रमाणीकरण गर्दा त्यसको विधि र प्रक्रिया नमिलेको बताए । “धेरै नागरिकले नागरिकता नपाएर उनीहरुलाई परेको समस्याबारे हामीलाई थाहा छ । तर यो गम्भीर परिस्थितिमा सरकारले विधेयक प्रमाणीकरण गर्दा विधि र प्रक्रिया बाहिर गएको हामी स्वीकार गर्दैनौँ”, उनले भने , “नागरिकता विधेयक राजनीतिक विषय हो । यो नेपालको सुरक्षा, मानव अधिकार र भूराजनीतिकसँग जोडिएको विषय हो ।”

संशोधनको माग    

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको बताए । “राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा र आज्ञापालक होइन । दलको निर्देशनमा चलेको राष्ट्रपति संस्थाको औचित्यको प्रश्न छ”, उनले भने , “जुन प्रक्रिया र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो, त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना र विरोध गर्दछ । हामी चाँडोभन्दा चाँडो त्यसलाई प्रक्रियामा ल्याएर संसद्बाट अगाडि बढोस् भन्ने चाहान्छौँ ।”

लिङ्देनले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट भएको आममाफीका विषयमा पनि प्रश्न उठाए । प्रतिपक्ष दलको विरोधपछि प्रतिनिधिसभाको अर्को बैठक आजै एक घण्टापछि बस्नेगरी स्थगित भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्