आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ: अध्यक्ष राजेन्द्र मल्ल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारण सभा एवं तेस्रो अधिवेशनमा मंगलबार सम्बोधन गर्दै मल्लले यस्तो बताएका हुन् ।

मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र बीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् । मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको उनको भनाइ छ ।

त्यस्तै, मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको भन्दै उनले सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । बजेटमा महत्त्वाकांक्षी कार्यक्रमहरू घोषणा भए पनि कार्यान्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाइ छ ।

सरकार फेरिएसँगै नीतिहरू पनि फेरिनाले अर्थतन्त्र सधैं अस्थिर हुने गरेको अध्यक्ष मल्लले बताए । साथै, अर्को प्रसंगमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तरराष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्