बजार नपाउँदा कुहिन थाल्यो गोलभेँडा,उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक ४ सयदेखि ५ सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले २ सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।

यस्तै, गत आर्थिक वर्षमा करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोरेको वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिएका छन् । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् । गत वर्ष ३ लाख ७० हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष १ लाख रुपैयाँको पनि बिक्री नभएको जानकारी दिएका छन् ।

उनले भने, ‘बीउ, गोडमेल, औषधिलगायतमा करिब ३ लाख रुपैयाँ जति खर्च भएको छ । गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब ६ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’  यस्तै, इन्द्रबहादुर पुरीले गत वर्ष ३ सय क्रेट बेच्दा २ लाख १० हजार नाफा भएकामा यस वर्ष ५ सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरेका छन् । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ छ । गतवर्ष २ लाख २३ हजारको गोलभेँडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै १ लाख घाटा व्यहोरेको नाएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिएका छन् । नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जनाएका छन् ।

उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्