मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले १-१ गोल गरेका थिए । पहिलो र दोस्रो गोल  सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गरेका थिए । प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।
यस्तै, प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा थिए ।  साथै, राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी रहेका थिए ।
सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिएका छन्  । उनले भने, ‘नेपालमा फुटसलको विकास भएको केही समय भयो । सानो ठाउँमा पनि फुटसलको अभ्यास गर्न सकिने भएकाले आफूहरु खेल प्रवद्र्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौँ ।’ राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उनले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताएका छन्  । उनले भने, ‘युवापुस्तालाई खेलकुदमा प्रोत्साहन मिलोस् भनेर आफूहरु मैदानमा उत्रिएका हौँ । खेलकुदमा बालबालिका र युवा आकर्षित भइदिए मेसी र रोनाल्डोका मात्रै नाम किन लिने, आफ्नै देशका प्रतिभावान् खेलाडीको नाम लिने अवस्था आओस्  । हामी त्यस दिशातर्फ लाग्नुपर्छ ।’
उपसभामुख रानाले सदनमा दबाबमा कानुन निर्माणको काममा सधैँभर लाग्नुपर्ने अवस्थाबाट केही समय मुक्त हुन फुटसललगायत खेलमा संलग्न हुन आवश्यक रहेको बताएका छन् । उनले भने, ‘भलिबल र साइक्लिङमा आफ्नो रुचि भए पनि संसद् दिवसलाई रमाइलो तुल्याउन फुटसलमा सहभागी भएकी हुँ ।’ प्रतियोगितामा पाँच महिलासहित कूल २२ फुटसल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्