हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्छ: राष्ट्रपति पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएका छन् । बाह्रौँ हस्तकला दिवसका अवसरमा (आज) बिहिबार आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताएका छन् । राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले भने, ‘हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकिन्छ ।’

त्यस्तै, हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिनुका साथै आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिने राष्ट्रपति पौडेलको विश्वास छ । उनले नेपाली हस्तकलाका सामग्री विभिन्न जातजातिको पुख्र्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

उनले भने, ‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।’ प्रत्यक्षअप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको हस्तकला क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको उल्लेख गर्दै राष्ट्रपतिले यसखालका उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्‍याएको बताए । उनले भने, ‘थोरै पूँजी, स-सानो प्रविधि तथा स्थानीय कच्चा पदार्थ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछिको गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो । उनले भने, ‘सहजै स्थानीय स्रोतको उपयोग गरी गर्न सक्ने व्यवसाय पनि हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकलाको सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।’

राष्ट्रपति पौडेलले परम्परागत सीप र प्रविधि हस्तान्तरण गर्न आवश्यक कार्यक्रम, तालिम सञ्चालका लागि सङ्घ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको बताएका छन् । पौडेलले भने, ‘मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले पर्यटन व्यवसायमा पनि योगदान पुर्‍याएको छ । यस्ता सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न निकायबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।’

उनले विश्वबजार प्रतिस्पर्धी बन्दै गइरहेका बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा उत्पादन, बजारको माग, वस्तुको डिजाइन, विका, गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, व्यापार मेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेकामा जोड दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकको पहिचानसँग जोडिएको हस्तकला क्षेत्रको विकासमा सरकारले ध्यान दिएको भन्दै उत्पादित सामग्रीको निर्यात सहजीकरण गर्न तत्पर रहेको उल्लेख गरेकाख छन् । उनले भने, ‘हस्तकला क्षेत्रले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन हस्तकला क्षेत्रको उल्लेख्य योगदान रहेको छ ।’

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले परम्परागत सीप तथा प्रविधि पछिल्ला पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै हस्तकला क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न सक्नुपर्ने बताएका छन् । विदेशमा रहेका युवालाई स्वदेश फर्काउने तथा स्वदेशमा रहेका युवालाई यही उद्यमशील बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलालाई समृद्धिको सम्भावना मान्ने अवधारणा अघि सारिएको उल्लेख गर्दै मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला क्षेत्रले महत्त्वपूर्ण सहयोग मिलेको जानकारी दिएका छन् । उनले हस्तकला क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएको जानकारी दिएका हुन् ।

हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासङ्घले २०४८ सालदेखि हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला एक लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्