अर्थमन्त्री महतद्धारा रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ । रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्यो । नयाँ नयाँ रोग देखा पर्‍यो । यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो । हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवर्द्धन गर्न उन्मुख हुन आग्रह गर्दछु ।’

यस्तै, महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने उनको भनाइ थियो । उनले भने, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभूषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं । हरेक जातिको पहिरन, खानपान, रहनसहन, लवाइखवाइ र हजारौं वर्षदेखि विकसित जीवनशैली संरक्षण हुनुपर्छ । हामीले मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर भयो । अहिले पुनरजागरण देशमै आइरहेको छ ।’

रैथाने आर्गनिक बाली बिक्री गरियो भने दोब्बरभन्दा बढी आम्दानी हुने मन्त्री महतले बताएका छन् । नुवाकोटमा उत्पादन हुने फलफूल र तरकारी एक डेढ घण्टामा काठमाडौँको बजारमा पुर्‍याउन सक्ने सम्भावना औंल्याउँदै मन्त्री महतले भने, ‘सडक सञ्जालको विस्तार भएको छ । अब घरमा बसेर काठमाडौंमा जागिर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्