विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको हो । माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन् ।

हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नै नहुँदा खबर आदानप्रदानमा निकै समस्या हुने गरेको छ । यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिए पछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिएका छन् । यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो ।

वडाध्यक्ष रोकायाले भने, ‘टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पुर्याएपछि सहज भएको छ । अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ ।’ समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटर उचाईको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पुर्याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको स्थानीयवासी प्रेमराज पाण्डेले जानकारी दिएका छन् ।

यस्तै, १५ लाख रुपैयाँको लागतमा हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई टेलिफोन पहुँच पुगेको छ ।वडा कार्यालयको ६ लाख रुपैयाँ र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको ९ लाख ९६ हजार गरी कुल १५ लाख ९६ हजार रुपैयाँमा टावरमा विद्युत लाइन पुर्याएको हो । उक्त टावरमासमेत फोरजी इन्टरनेट सेवा जडान गरेको वडाध्यक्ष रोकायाले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्