गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा (आज) सोमबार सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरेका हुन् ।

उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान सङ्ख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरेका थिए ।

त्यस्तै, विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् । छलफलमा पर्यटनमन्त्री किराती, पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मुख्यसचिव डा अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको उपस्थिति रहेको थियो ।

साथै, नेपाल वायुसेवा निगम, निजी वायुसेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिकोसमेत उपस्थिति थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्