प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्याउँछौँ: मुख्यमन्त्री केदार कार्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा (आज) मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पुर्याउने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले भने, ‘अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ । तर, त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महसुस हुन्छ ।’ उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले बाख्रा र बङ्गुरको बीमामा भुक्तानीका लागि बीमा कम्पनीमा निकै झण्झटिलो अवस्था सिर्जना भएकामा बीमा प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायत भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी हालेसरह भएकामा यसमा सुधार गर्न सुझाव दिएका छन् । नेपालको वित्तीय क्षेत्र सुधार रणनीतिअन्तर्गत गाउँ-गाउँसम्म बीमाको पहुँच पुर्याउन तीनै तहको सरकारसम्म पुग्ने प्रयास भइरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उल्लेख गरेका छन् । उनले बीमा गरिएका बाख्रा र बङ्गुर मरेपछि किसानले अत्यधिक मूल्य माग गर्ने गरेकाले चुनौती थपिएको जानकारी दिएका छन् ।

त्यस्तै, अध्यक्ष सिलवालले सरकारी तथा निजी सम्पत्तिको बीमासम्बन्धी उच्चस्तरीय अध्ययन कार्यदल गठन भएको र यसले दिएको प्रतिवेदनको आधारमा काम अघिबढाउने प्राधिकरणको तयारी रहेको जानाएका छन् । नेपालमा जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुन: बीमा कम्पनी दुई र लघुबीमा कम्पनी ७ गरी कूल बीमा कम्पनीको सङ्ख्या ३७ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्