उद्योगी व्यवसायीको समस्या समाधान हुन्छ: अर्थमन्त्री प्रकाशशरण महत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा उनले बैँकको ब्याजदर र भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताएका हुन् ।

उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने र हेटौँडा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने जानकारी दिएका छन् । उनले भने, ‘पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरुप बजेट बनाउने छौँ । ‘

महतले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनाका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरेका छन् । सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता र निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ-आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण कटुवाल, कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको सहभागिता रहेको थियो । साथै, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नंका प्रहरी उपरीक्षक अनिल बुढाथोकीलगायत उद्योगी-व्यवसायीहरुको सहभागिता थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्