दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’  सेवा सुरु भएको छ । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको हो ।

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट १ वर्षअघि ४२ लाख रुपैयाँ मूल्य बराबरको ५ सय एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्सरे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो सय एमएको एक्सरे मेसिनमा जडान गरी डिजिटल बनाएर आइतबारदेखि प्रयोगमा ल्याएको जानकारी दिएका छन् ।

उनले भने, ‘५०० एमए रेडियोग्राफीसहितको एक्सरे मेसिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सोको प्रणाली केन्द्रमा रहेको पुरानो मेसिनमा जडान गरेर सेवा सुरु गरिएको हो । डिजिटल एक्सरे सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।’ डिजिटल एक्सरे सेवा भएपछि बिरामीको उपचार गर्न सहज हुने सूचना अधिकारी नेपालीले बताएका छन् ।

यस्तै, केन्द्रबाट मालिका, धौलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने गर्दछन् । सो क्षेत्रका बासिन्दालाई एक्सरे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको हो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्