भरतपुर महानगरपालिकाद्धारा राडारजडित क्यामरा जडान, जनतालाई सुरक्षित महसुस गराउने उदेश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गर्ने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले ४ सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्ने भएको हो ।

यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा १ सय ३७ क्यामेरा जडान गर्ने योजना छ । स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उनले बताएका छन् ।

प्रहरी नायब उपरीक्षक पण्डितले भने, ‘क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ । अन्य काम महानगरपालिकाले गर्ने छ ।’ पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उनले जानकारी दिएका छन् । राजमार्गमा तीव्र गतिकाकारण हुने सडक दुर्घटना तथा अन्य आपराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताएका छन् ।

उनले भने, ‘यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ । ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताएका छन् । यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ । जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो ।’

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब १० करोड रुपैयाँ खर्च हुने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्