प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम छनोट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले विजयी सुरूवात गरेको छ । मंगलबार सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

जितका लागि पाएको ९१ रनको झिनो लक्ष्यमा बझाङले १५.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो । बझाङका लागि अभिनाश मल्लले ४४ रनको योगदान गरे । उनी म्यान अफ द म्याचसमेत बनेका छन् । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट लिएका छन् । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७.५ ओभरमा ९० रनमा समेटियो । दाचुलाका लागि विपीन धामीले सर्वाधिक २८ रन बनाएका छन् । बझाङका सुशील रावल र अशोक धामीले समान ३-३ विकेट लिएका छन् ।

यस्तै, पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ । दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।प्रतियोगिताअन्तर्गत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् ।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनलमा पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने सङ्घका उपाध्यक्ष रमेश बोहराले बताएका छन् । इलिट च्याम्पियनसिपको उद्घाटन खेल यही पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच हुनेछ ।

खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिप खेल आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्