दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दार्चुला ओखरखेतीका लागि परिचित छ । ओखरखेतीतर्फ आकर्षित भएका त्यहाँका किसानले व्यावसायिक रुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् ।

विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका-६ का विष्णु सिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन् । बुवा र बाजेले लगाएका पाँच-दस बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र ठूलो गरेर १ सय ७५ ओखरका बोट रहेका छन् । हाल उनको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्नासमेत बिक्री हुँदै आएको छ ।

धमीले भने, ‘बेर्ना कम उत्पादन भयो १ हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए ।’ बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो । धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएका छन् । त्यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर सङ्कलन गरेर पनि बजारसम्म पुर्याउने काम पनि गर्दै आएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताएका छन् ।

यस्तै, ओखर खेतीले पछिल्लो समय राम्रो बजार लिइरहे पनि स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले जानकारी दिएका छन् । उक्त वडामा मात्र बर्सेनि २५ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने मालिकार्जुन गाउँपालिकाको केही भू-भागमा पनि ओखर निक्कै फल्ने गर्दछ । सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरु झन आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो ।

सरकारले विसं २०७८देखि दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित त्यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन् । ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताएका छन् । दार्चुलामा १ सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल १ सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो। यस वर्षमा जिल्लामा १ हजार ५ सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्