काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती नगरका १२ वटै वडामा एकैसाथ नगरपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मंगलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाएको छ । पनौती-७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो । कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताएका छन् ।

उनले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा नि:शुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गरेका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा’ भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत मंगलबार पनौती स्वास्थ्य चौकीले ६२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याब परीक्षण गरेको छ । त्यसैगरी, बल्थली स्वास्थ्य चौकीले ३३, मल्पी स्वास्थ्य चौकीले ३३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यस्तै, नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र ज्येष्ठ नागरिकले सेवा लिँदा खुसी पाइएको जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्षको कार्यक्रममा आवश्यकता अनुसार थप औषधिकोसमेत व्यवस्था गरिएको तिमल्सिनाले बताएका छन् । शाखाका अनुसार नगरले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँगै प्रत्येक महिना दुईपटक मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरिएको छ ।

यसैबीच बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई आजदेखि कृत्रिम दाँत नि:शुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ६० वर्षभन्दा माथिका स्थानीय नागरिकको न:शुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो । नगरले दाँत नभएका नागरिकको पहिचानका लागि आजदेखि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई नि:शुल्क दाँत राखिदिने योजना बनाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले जनाएका छन् ।

शिविरबाट लागत अनुमान गरी सोहीअनुसार कोटेशन-बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले भने, ‘जेष्ठ नागरिकको सम्मानको लागि यस किसिमको कार्यक्रम गर्न लागेका हौँ ।’ उनका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुसी देखिने अपेक्षा गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्