रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

यसका लागि ‘विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रमको कार्यविधि-२०८०’ तयार गरेर विद्यार्थीले अनिवार्य रूपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याएको छ । पालिकाभित्रका विद्यार्थीले बैंक खाता खोलिसकेको बताएको छ । विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न सो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिएका छन् । उनका अनुसार हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सो कार्यक्रममा सहभागी भएका छन् ।

गाउँपालिकाले प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर काम अगाडि बढाएको हो । विद्यार्थीको सम्पूर्ण विवरण सङ्कलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको जनाइएको छ । विद्यार्थीको हाजिरी हेरेर उपस्थित भएको दिनको मात्र रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । यसले विद्यार्थीलाई विद्यालयमा उपस्थित हुनसमेत हौसला मिल्ने अपेक्षा लिइएको छ । यसमा विद्यार्थीले समेत बचत गर्नुपर्ने व्यवस्था छ ।

यसमा विद्यार्थीको तर्फबाट समेत दैनिक एक वा सोभन्दा बढी रकम बचत गर्ने व्यवस्था मिलाइएको छ । बचत पासबुक मार्फत रकम जम्मा गरिने प्रावधान मिलाइएको छ । दैनिकरूपमा बचत गर्न चाहे पनि व्यवस्था मिलाइएको र मासिक बचत एकै पटक गर्न चाहे त्यसको समेत व्यवस्था मिलाइएको छ । कार्यक्रमका लागि प्राइम कमर्सियल बैंकलेसमेत २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । प्रत्येक विद्यार्थीको खाता खोल्दा बैंक खातामा रु १०० दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता भएको छ । पालिकाभित्र ३० सामुदायिक विद्यालय छन् । कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थी सहभागी भएको बताइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्