झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको हो ।

उनले भने, ‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ । यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले जनाएका छन् । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।

अध्यक्ष ढकालले भने, ‘ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ । यसमा राज्यको सहयोग अपरिहार्य छ । झापामा ८ सय २ सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् ।’ सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भने, ‘स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ ।’

झापा जिल्ला सहकारी सङ्घमा ४ सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण १ सय ९३, कृषि सहकारी १ सय ९३, दुग्ध र सुपारी ६-६, चिया र उपभोक्ता ४-४, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले जानकारी दिएका छन् । झापाका सहकारीमा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्