नेपाल-भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ: मन्त्री साउद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले शुक्रबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको जानकारी दिएका छन् । मन्त्री साउदले भने,’कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ । यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।’

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको मन्त्री साउदले जानकारी दिएका छन् । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको उनको भनाइ थियो । मन्त्री साउदले भारतका विदेशमन्त्री डा.एस जयशङ्करले हालै गरेका नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरेका छन् ।

उनले भने, ‘भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजना सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई रु १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायत सम्झौता भएका छन् । दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सार्थक रह्यो ।’

पञ्चेश्वर परियोजना ‘ब्रेक थ्रु’को विन्दुमा

मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन् । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताएका छन् ।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिङ्गो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो । पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गरेका छन् । उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजना अगाडि बढाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या घट्ने जनाएका छन् ।

‘विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ’

मन्त्री साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘विपिनको रिहाइका लागि पटक-पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ । मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ । पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित छन् । उनी चाँडै रिहा हुन्छन् ।’

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पारेृका छन् । उनले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको जनाएका छन् । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जनाएका छन् । शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उनले भने, ‘त्यसबाहेक १ सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उनीहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्