पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाउँदै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।
सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिएका छन् । उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।
संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म ५ हजार २ सय ५ जनाको स्क्रिनिङ गरिएको जनाएका छन् । जसमध्ये २ सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ । भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताएका छन् ।
हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुन:कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
होल्डिङ सेन्टर तयारी अवस्थामा :
वीरगञ्जस्थित सीमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । कोभिड-१९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणको उद्देश्यका साथ त्यहाँस्थित सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो । निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिएका छन् । कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेन्टिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उनको भनाइ थियो ।
भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब रु २८ करोडको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिएका छन् । उनका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन् । उक्त क्वारेन्टिनमा १ हजार शय्या छन् । जसमध्ये ९ सयमा सामान्य लक्षण भएकालाई र १ सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने छ । त्यस्तै, अन्य तीन वटा एसिसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्