लुक्लामा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३.८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२मा १ लाख १ हजार ५ सय १ पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३मा १ लाख ३३ हजार २ सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार ७ सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो । सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताएका छन् । सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ ।

यस्तै, खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिएका छन् । उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो ।

जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका केन्द्रसम्म सडक पुगिसकेको छ । खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जनाएका छन् । उनले भने, ‘लुक्लासम्म गाडीको बाटो पुगेपछि पर्यटकलाई पनि सगरमाथा क्षेत्र भ्रमण गर्न सहज हुनेछ । अहिलेजस्तो हवाई सेवाकै भर पर्नु पर्दैन । त्यसैले लुक्लालाई जतिसक्दो चाँडो सडकमार्गले जोड्न स्थानीय सरकार लागिपरेको छ ।’

९ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बुको लुक्लामा ९ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित उक्त विमानस्थलमा सन् २०२३मा ९ लाख २८ हजार ९ सय ८४ किलोग्राम अर्थात् ९२८.९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ । कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगाययत रहेका छन् ।

लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताएका छन् । ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्