जिल्ला प्रशासन कार्यालयद्वारा औषधि पसल ‘सिल’, नियम विपरीत पसल सञ्चालन गरेको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो ।

नियम विपरीत औषधि पसल सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पन्न आयुर्वेद औषधि पसलमा सिल गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त औषधि पसलको अनुगमन गर्ने क्रममा नियम विपरीत पसल सञ्चालन गरेको प्रमाण भेटिएपछि पसलमा सिल गरेको छ । विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा सम्पन्न आयुर्वेद नामबाट उक्त पसल सञ्चालनमा आएको थियो ।

यस्तै, आयुर्वेद औषधि पसलले नियम विपरीत प्रयोगशाला सेवा सञ्चालन गरी औषधि बिक्री गरिरहेको भन्ने पाएको थियो । उक्त सूचनाका आधारमा प्रशासनले गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गरेको भेटिएपछि आयुर्वेद पसल सिल गरी अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । प्रशासकीय अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले सञ्चालन गरेको प्रयोगशाला सम्बन्धित निकायमा दर्ता नगरेको, एलोपेथी र होमियोपेथी दुवै औषधि बिक्री गर्दै आएको, औषधिको खुल्ला बिक्री एवं बिरामीको जाँच गरेको भेटिएको जनाइएको छ ।

सो पसल सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औषधालयको नामबाट एकै ठाँउबाट सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्