कृषि तथा पशु मेला प्रदर्शनी: ४३ किसान पुरस्कृत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश:३ हजार, २ हजार ५ सय र २ हजार प्रदान गरिएको छ । बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमश:२ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिएका छन् । प्रदर्शनीमा १ सय २० कृषि उपज राखिएको थियो ।

यस्तै, मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो । पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मंगलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गरेका छन् । दिक्तेलस्थित हाटडाँडामा आयोजित सो प्रदर्शनी करिब ५ सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिएका छन् ।

प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत प्रदर्शनी कक्षमा राखिएको थियो । यही माघ १५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीलेसमेत अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् । जिल्लाका सबै स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्