काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१४ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु ५ लाख लिइ सम्पर्कविहीन भएका थिए । उनको खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट उनलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेका हो ।
पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।