फर्मा एक्स्पोले चितवनको बजार चलायमान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घले आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले चितवनको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो ।

सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा ३ हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताएका छन् । उनका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्तासमेत त्यहाँ आएका छन् ।

त्यस्तै, सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोका कारण २ हजार हाराहारी होटलका कोठा बुक भएका छन् । होटलमा मात्रै ३ हजारभन्दा बढीले रु ६ करोड हाराहारी खर्च गर्ने उनको भनाइ छ । उनले भने, ‘एक्स्पोमा आउनेले एक्स्पो मात्रै हेर्दैन, यहाँका पर्यटकीय ठाउँको पनि भ्रमण गरेका छन्, खानपान र रमाइलोमा पनि खर्च भएको छ ।’ एक्स्पो सम्पन्न गर्न रु ३ करोड हाराहारी खर्च हुने बरालको अनुमान छ । यसका अतिरिक्त प्रदर्शकले आफ्नो स्टल साजसज्जालगायत अस्थायी कामका लागि पनि रु २ करोड हाराहारी खर्च गरेको उनको अनुमान छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटा एक्स्पोले चितवनको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको बताएका छन् । उनले भने, ‘एक्स्पोको अवधिमा चितवनमा कोठा पाउनै मुस्किल थियो ।’ त्यहाँ आएका आयोजक, प्रदर्शक र अवलोकनकर्ताले चितवनका पर्यटकीय ठाउँकोसमेत अवलोकन गरेको भन्दै भरतपुर भ्रमण वर्षलाई यसले ठूलो सहयोग पुगेको रुङ्गटाको भनाइ छ । यही फागुन २५ गतेदेखि सञ्चालन भइ आइतबार समापन हुने एक्स्पोमा १ सय ६० वटा स्टल राखिएका छन् ।

नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन-उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्