च्याउ खेतीबाट मनग्य आम्दानी कमाउँदै बाठामगर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो । उनले विगत आठ वर्षदेखि घोराही-१७ गैरागाउँमा च्याउखेती गर्दै आएका छन् । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनले लगानी बढाउँदै गएका हुन् ।

उनले वार्षिकरुपमा रु १५ लाख बराबरको च्याउको कारोबार गर्दै आएका छन् । यसबाट रु ३ लाखसम्म बचत हुने गरेको उनको भनाइ छ । ‘२०७२ सालबाट च्याउ खेती सुरु गरेको थिए । अहिले आठ वर्ष भयो । म निरन्तर रुपमा च्याउ उत्पादन गर्दै आएको छु’, बाठामगरले भने, ‘यो अवधिमा राम्रो आम्दानी भएको छ ।’ पहिले च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउ खेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको उनी बताउँछन् । ३९ वर्षीय बाठामगरले देश बाहिर समेत गएर च्याउ खेतीको बारेमा अवलोकन र अध्ययन गरेर आएका छन् । उनको च्याउ फार्ममा स्थानीय १२ कामदारलेसमेत रोजगार पाएका छन् ।

यस्तै, दैनिक करिब ४०-५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने बाठामगरले उत्पादन भएको च्याउ जिल्लाको घोराही, तुलसीपुरसँगै जिल्ला बाहिर प्युठान, बुटवल, कोहलपुर, सुर्खेतलगायतका ठाउँमा समेत पठाउने गरेको उनको भनाइ छ । उनले खुद्रामा रु २ सय केजीका दरले बिक्री गर्दै आएका छन् । सुगर, प्रेसरलगायतका बिरामीलेसमेत खान मिल्ने र मासु नखानेले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ । ‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर, अहिले त्यो अवस्था हटेको छ’, उनले भने, ‘अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा खपत बढेको छ ।’ बाठामगरले दुई बिघा जग्गा भाडामा लिएर विगत लामो समयदेखि व्यवसाय गर्दै आएको बताएका छन् । उनका अनुसार च्याउ भदौ महिनादेखि चैतसम्म राम्रो आम्दानी लिन सकिने बताएका छन् । उनले अहिले कन्य, पाते जातको च्याउ उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

सिजाराम बाठामगरले मेहनत गर्न सकियो भने आम्दानी पनि सोचेअनुसारको प्राप्त गर्दै जाने जनाएका छन् । आगामी दिनमा च्याउ खेती गरेका किसानलाई बजारीकरणमा सहयोग पुर्याउनका लागि सरकारीस्तरबाट पनि च्याउको महत्व र यसले स्वास्थ्यलाई दिने फाइदालगायतका बारेरमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको उनी बताउँछन् । आफ्नै देशमा कुषि व्यवसायमार्फत स्वरोजगार बन्नका लागि अनुदानसँगै बजारको ग्यारेन्टी गरिदिन स्थानीय सरकारलाई उनले आग्रह गरेका छन् । अनुदान प्राप्त गर्ने वास्तविक किसानभन्दा पनि यहाँ विचौलियाको बढी हाबी हुने हुँदा कृषक सधैँ मारमा पर्ने गरेको उनको अनुभव  छ । आफ्नो च्याउ खेतीबाट राम्रो आम्दानीसँगै स्थानीय धेरै नागरिकले रोजगार पाउन सफल भएको हुँदा भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने किसान बाढामगरको भनाइ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्