वेनी-जोमसोम-कोरला सडकमा पाँच पुल निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो ।

पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताएका छन् । लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते रु २३ करोड ७९ लाख ७२ हजार ९ सय ५१ मा ठेक्का सम्झौता गरेको थियो । कालिका-गजुरमुखी जेभीले विसं २०७६ चैतमा रु ७ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिएका छन् ।

यस्तै, सूचना अधिकारी चापागाईँका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि रु ४ करोड ६८ लाख २ हजार ६ सय ३८ मा ठेक्का सम्झौता भएको थियो । ५० मिटर लम्बाइको किम्लिङखोला पुलको लागत रु ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत रु ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत रु ६ करोड ८५ लाख रहेको छ । विसं २०७४ मा सुरु भएको २ सय २ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा १ सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०-७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से, बेनी-बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतोखोलामा मोटरेबल पुल निर्माण थालिएको छ ।

पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३-७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख र्धुव झाले जानकारी दिएका छन् । विभिन्न छ स्थानमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्