मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ललितपुर महानगरपालिका-१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै मगर गाउँको परिचय हराउँदैछ गएको छ । सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै हराउँदैछ गएको हो ।

शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ । नेपाल एकीकरण गर्नेक्रममा बहादुर मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै विसं १७६९ मा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा जिल्ला पीपलथोक धातथलोका जगजजित थापालाई ५ सय रोपनी जग्गा लालमहोहर लगाएर दिएको इतिहास शिलालेखमा उल्लेख गरिएको इतिहासका जानकार एवं स्थानीय राजेश पन्तले बताएका छन् । काठमाडौँ उपत्यकालाई अन्य राज्यको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौँडा कुर्न उपत्यकाको विभिन्न स्थानमा जग्गा दिइ बसोबास गराउने क्रममा भैँसेपाटीमा पाँच सय रोपनी जग्गा दिइएको मगर गाउँमा स्थापित शिलालेखमा उल्लेख छ ।

त्यस्तै, समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचति भएको थियो । गोरखा जिल्लाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पीपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख गरिएको छ । त्यही पीपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ । सहरीकरण बढ्दै गएपछि मगर गाउँमा सबै समुदायको बसोबास हुँदै आएको स्थानीय बताउँछन् । मन्त्री आवास निर्माण सुरु भएदेखि आवास क्षेत्रमा बाटो फराकिलो हुनुपर्छ भनेर स्थानीयले विरोध गरिरहेका स्थानीय पन्तको भनाइ छ । उनले भने, ‘मन्त्री निवास निर्माण गर्ने बहानामा ऐतिहासिक बस्तीको बेवास्था गरेनन् । आवास क्षेत्र वरपर ११ मिटर चौडा बाटो चाहिन्छ भनेर विरोध गरेका हौँ ।’

ऐतिहासिककालदेखि स्थापित भएको गाउँको परिचय गुम्ने हो कि भन्ने चिन्ता बढेको पन्तको भनाइ छ । उनले भने, ‘सहरीकरण बढ्दै गएपछि मगर गाउँको परिचय लोप नहोस् भनेर शिलालेख निर्माण गरेका छौँ । शिलालेखमा एकीकरणको समयमा मगर समुदायले पृथ्वीनारायण शाहलाई पु¥याएको योगदानका बारेमा उल्लेख छ ।’ मगर गाउँ चोक छेउमा विसं २०६५ मा निर्माण गरिएको पशुपतिनाथ मन्दिर छ । त्यही मन्दिरको मुख्य गेटमा मगरगाउँको इतिहास झल्किने शिलालेख तयार गरिएको छ । मन्त्री आवास निर्माण नहुँदा आवास क्षेत्र खेतीयोग्य जमिन भएको पशुपतिनाथ मन्दिरका पुजारी सुदर्शन अर्यालले जानकारी दिएका छन् । उनले भने, ‘पहिले त्यहाँ धान फल्थ्यो । अहिले हेर्दा हेर्दै ठूलाठूला भवन निर्माण भएका छन् ।’

यस्तै, अहिले धेरैले मगरगाउँलाई मगर गाउँ नभनेर आवास क्षेत्र भन्ने गरेका पजारी अयालले जनाएका छन् । मगर गाउँको परिचय बिस्तारै हराउँदै गएको उनको भनाइ छ । मन्त्री आवास निर्माण भएपछि स्थानीयले फराकिलो बाटो र बस्ती सुरक्षा तथा पार्क हुनुपर्ने माग गर्दै आएका छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण सकिए पनि सङ्घीयमन्त्री भने अझै काम सम्पन्न भएको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्