‘राष्ट्रिय समझदारी अनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ’: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग बुधबार सिंहदरबारमा भेट गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् । ‘सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन’, उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।’ उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको उल्लेख गरेका छन् ।

द्वन्द्वपीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्