तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।

रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएको रास्वपा क्षेत्रीय सचिव सुन्दर बस्यालले जानकारी दिएका छन् । घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका बासिन्दालाई सहजरुपमा सेवा प्रवाह गर्न भिमादमा इलाका प्रशासन कार्यालय आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘स्थानीय प्रशासनबाट सार्वजनिक सेवामा सरल पहुँच स्थापना गर्न आवश्यक भएकाले यसभन्दा अगाडि पनि सामान्य पहल नभएका होइनन् । तर, कार्यान्वयन भने हुन सकेको छैन, भौगोलिक विकटताका कारण त्यस भेगका जनतालाई नागरिकता र राहदानी जस्तो सेवा लिन पनि जिल्ला सदरमुकाम दमौली जानुपर्ने र कतिपय अवस्थामा बास बस्नुपर्ने अवस्था रहेको छ ।’ प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लाको भूगोल र अवस्थाका कारण जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक रहेको बताएका छन् । उनले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बताउँदै आफ्नो ठाउँबाट पनि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै, हाल सदरमुकाम दमौलीमा रहेको प्रशासन कार्यालयले जिल्लाका १० पालिकाका सेवाग्राहीलाई सेवा दिइरहेको छ । क्षेत्र नं २ अन्तर्गतका भिमादका नौ, ऋषिङका चार, शुक्लागण्डकीका १२, घिरिङका पाँच, म्याग्देका एक वडाका बासिन्दालाई दमौली आउनुभन्दा इलाका प्रशासन कार्यालय भिमादमा स्थापना भएको खण्डमा उतै सेवा लिन सहज हुने बताइन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्