‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसाथ गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् । रेडियो नेपालको ७४औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले रेडियो नेपालले गाउँ, सहर र दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने जानकारी दिएकी छिन् । नेपाल सरकारको शतप्रतिशत भागमा रेडियोको पहुँच पुर्याउने लक्ष्यअनुरुप हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पुर्याउन सफल भएको सुन्दा खुसी लागेको उल्लेख गर्दै मन्त्री शर्माले बाँकी जनसङ्ख्यामा प्रसारण पहुँच वृद्धि गर्न कटिबद्ध भएर लाग्न आग्रह गरेकी छिन् । संवैधानिक मर्मलाई आत्मसात् गर्दै रेडियो नेपालले प्रादेशिक प्रसारणमा प्राथमिकता दिँदै आएको भन्दै उनले अब रेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक रहेको बताएकी छिन् ।

त्यस्तै, उनले भनिन, ‘हालसम्म २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण गरेर देशको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई सम्बोधन गर्नु समावेशिताको महत्वपूर्ण फड्को नै हो, आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रसारण उन्मुख समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ ।’ मन्त्री शर्माले २००७ सालको क्रान्तिको जगबाट स्थापित अग्रणी प्रसारण संस्था रेडियो नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आइरहेको जनाएकी छिन् । राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको जनाएकी छिन् ।

सूचना प्रविधिको विकासले सञ्चारका माध्यममा विविधता आएको भए पनि अझै रेडियोप्रतिको आकर्षण नघटेको उल्लेख गर्दै मन्त्री शर्माले अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा, मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको स्मरण गरेकी छिन् । ‘टेलिभिजन र इन्टरनेटको पहुँचभन्दा बाहिरका स्रोतालाई सूचना र मनोरञ्जन दिने मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका स्रोतालाई क्षणक्षणमा अनलाइन ‘पोर्टल’मार्फत सूचित गर्ने काम पनि रेडियो नेपालले गरिरहेको छ’, उनले भनिन, ‘रेडियो नेपाल गाउँ-सहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो ।’

मन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात् गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिएकी छिन् । ‘कला, साहित्य, गीत, सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवद्र्धन गर्नु रेडियो नेपालको अभीष्ट बन्नुपर्छ’, उनले भनिन । जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको जनाउँदै उनले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व ऐतिहासिक उपलब्धि भएको जनाएकी छिन् । साथै, प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्