मन्त्री भण्डारी:-‘ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाएका छन् । उनले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरेका हुन् । मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

सो अवसरमा व्यवसायीहरुले आर्थिक वर्ष २०७६-७७ मा आफूहरुले मूल्य अभिवृद्धि कर नलिए पनि सरकारले तिर्नुपर्ने देखाएको भन्दै मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष माधव नेपालले जानकारी दिएका छन् । चालु आर्थिक वर्षमा सरकारले सो १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई ‘स्किम’ का रुपमा ५ प्रतिशत तिर्न भने पनि आफूहरुले सो अनुसारले कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनी बताउँछन् ।

ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासङ्घले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महङ्गी सिर्जना गरेको महासङ्घको भनाइ छ । त्यसैगरी महासङ्घले देशका ठूला सहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ । नमूनाका रुपमा बुटबलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा रु ३० करोड लागतमा ढुवानी ग्राम निर्माणधीन रहेको अध्यक्ष नेपालले बताएका छन् । यस्तै, उनले मन्त्री भण्डारीसमक्ष सबै ढुवानी व्यवसायीलाई एकै बनाइएकामा यसले साना व्यवसायी मर्कामा परेको भन्दै महासङ्घले ढुवानी व्यवसायीको वर्गीकरणको माग गरेका छन् ।

साथै, महासङ्घका महासचिव पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित मागपत्रमा करयोग्य आय गणना गर्दा खर्च कटौती पाउने व्यवस्था मिलाउन आग्रह गर्दै ढुवानी क्षेत्रका समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिदिन माग गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्