सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु ८ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म १ लाख ३५ हजार ८ सय ४३ योगदानकर्तालाई रु ८ अर्ब ४८ करोड भुक्तानी गरेको हो ।

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु ७ अर्ब २५ करोड ३३ लाख १ हजार ३ सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख ७६ हजार ३ सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा रु ११ करोड ४७ लाख १९ हजार ५ सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख १ सय ६५ भुक्तानी गरेको छ । कोषबाट १ लाख ३५ हजार ८ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिएका छन् । कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार ७ सय ९९ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ ।

बिहीबारसम्म औपचारिक क्षेत्रका ४ लाख ९१ हजार २ सय २३, वैदेशिक क्षेत्रका ७ लाख ६६ हजार २ सय ४३, अनौपचारिक क्षेत्रका २ सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा १८ हजार ८ सय १९ रोजगारदता आबद्ध छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्