४ हजार बढी प्रहरी राप्रपा लक्षित प्रदर्शनमा परिचालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले ४ हजार बढी प्रहरी परिचालन गरेको छ । प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भने, ‘शान्तिसुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले ४ हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने छैनन र अप्रिय घटना हुने छैन ।’ प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ ।

उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौँमा आएका बताइएको छ । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको सो पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्