ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले बिहीबार आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको जनाएका छन् । ‘ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ’, उनले भने ।

यस्तै, परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौँ प्रहरीले काम गरिरहेको उल्लेख गरेका छन् । चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने ३ हजार ७ सय मुद्दा दर्ता काठमाडौँ प्रहरीमा दर्ता भएको उनको भनाइ छ ।

लागूऔषध दुव्यर्सनीसम्बन्धी देशभर ४ हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्री बताउँछन् । काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरु कालोपत्र गरिसक्ने बताएका छन् । उनले लागूऔषध दुर्वेसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्