तनहुँका २३ वटा सामुदायिक वनमा आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो ।

डढेलोका कारण साढे दुई महिनाको अवधिमा १ सय १७.३ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताएका छन् ।

उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका ६-६ वटा सामुदायिक वनमा डढेलो लागेको थियो । त्यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई-दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको थियो । भौगोलिक विकटताका कारण आगलागीका घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको उनी बताउँछन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वनका कर्मचारी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

आगलागीबाट वन जोगाउन सचेतनामूलक कार्यक्रमलाई व्यापकरुपमा प्रचारप्रसार गरिएको छ । माइकिङका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ । डिभिजन वन मातहतमा अग्नि नियन्त्रण कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वनमा डढेलो लागेको सूचना आउनेबित्तिकै टोली परिचालन गर्ने गरिएको डिभिजन वनका अर्का वन अधिकृत काशीराज पण्डितको भनाइ छ । ठूलो परिणाममा आगलागी र जोखिम हुने देखिएमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँग समन्वय गरी आगो नियन्त्रणको प्रयास गरिएको छ ।

तनहुँमा सामुदायिक वन ६ सय २४, कबुलियती वन ४ सय ८५ र धार्मिक वन ११ वटा रहेका छन् । खडेरी मौसम रहिरहे जेठ महिनासम्म आगलागीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको वन अधिकृत पण्डितले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्