‘वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ’: मन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलाको मङ्गलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपाल-भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको जनाएका छन् ।

नेपाल-भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, ‘दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ । यसले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ ।’

त्यस्तै, द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको उल्लेख गरेका छन् । उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताएका छन् ।

पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै उनले ऊर्जाको क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको जानकारी दिएका छन् । उनले भेन, ‘नेपालको जलविद्युत् उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ । व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ । हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्