वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन भएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको हो ।

सो कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा.रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताएका छन् ।

‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ’, उनले भने, ‘माग कम भएपछि आयात पनि स्वत: घट्ने भयो ।’ भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियोभने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ । प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुनेगरेको छ । विगतमा दैनिक तीन वटा कार्गाे रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गाे रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।

त्यस्तै, भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षमा रु ६५ अर्ब ९४ करोड १ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आर्थिक वर्षमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आर्थिक वर्षमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व सङ्कलनमा घटेको जनाएका छन् ।

‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन’, उनले भने, ‘गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।’

कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रु ४ अर्ब ७ करोड राजस्व सङ्कलन गर्यो । भदौ महिनामा रु ४ अर्ब ५७ करोड र असोज महिनामा रु ४ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा रु ३ अर्ब ६३ करोड, मङ्सिर महिनामा रु ४ अर्ब २८ करोड, पुस महिनामा रु ३ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्यो । कार्यालयले माघ महिनामा रु ३ अर्ब ७४ करोड, फागुन महिनामा रु ३ अर्ब ६२ करोड, चैत महिनामा ४ अर्ब २८ करोड र वैशाख महिनामा रु ३ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

भन्सार विभागले कार्यालयलाई गत आर्थिक वर्षमा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, उक्त कार्यालयले रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र सङ्कलन गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्