खेतका गराभरी हरियो धनियाँ, धनियाँ बेचेरै वार्षिक आठ लाख आम्दानी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धनियाँ बिक्री गरेर अमित चौधरीले वार्षिक आठ लाख आम्दानी गर्दै आइरहेका छन् । खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका-६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् ।

धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्ने गरेको उनले बताएका छन् । उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्थे । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उनले बताएका छन् । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ रु २ हजार ४ सयमा खरिद गरि खेती गरेको उनले बताएका छन् । त्यो धनियाँ बिक्री गरेर रु २ लाख आम्दानी गरेको उनको भनाइ छ ।

बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनी बताउँछन् । सिजनमा रु ५ मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा रु १० मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनको भनाइ छ । धेरै उखेल्न सक्यो भने दैनिक रु ३ हजारदेखि रु ३ हजार ५ सयसम्म आम्दानी हुने गरेको अमितले बताउँछन् । उखेल्न नसकेको समयमा रु १ हजारदेखि रु १ हजार ५ सयसम्मको बिक्री हुने गरेको उनको भनाइ छ ।

त्यसैगरी धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले जानकारी दिएका छन् । ‘वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने । गत वर्ष यी तीन महिनामा रु २ लाख आम्दानी गरेको अमितले जनाएका छन् । सरदर वर्षको रु ८ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।

‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’, उनले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।’ उनीसँग बाहै्रमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्रै महिना गर्ने गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्