‘सडक दुघर्टना न्यूनीकरण गर्न सबैको साथ आवश्यक छ’: मुख्यमन्त्री पाण्डे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको आयोजनामा बुधबार तनहुँको शुक्लागण्डकी-४ दुलेगौँडामा भएको सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको जनाएका छन् । ‘दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसैले दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशमा सचेतना फैलाउने कार्यमा प्रदेश सरकार जुटेको छ ।’

सवारी दुर्घटनामा ट्राफिक प्रहरीले कसरी घाइतेको उद्वार गर्छ भन्ने बारेमा नमूना अभ्यास गरिएको थियो । अभ्यासका क्रममा प्रहरी र स्थानीय सहभागी भएका थिए । दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्तिका लागि गर्ने आन्दोलनले असहज परिस्थिति सृजना हुनसक्ने समेत नमूना अभ्यासमा देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक समाज र विद्यार्थीलगायतको उपस्थिति थियो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले प्रहरीले जहिले पनि समाजमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको जानकारी दिएका छन् । नेपालमा सडकको विकल्प नभएकाले सवारीसाधन दुर्घटना दर उच्च रहेको उनी बताउँछन् ।

मुलुकमा प्रत्येक वर्ष २ हजार ६ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने र १५ हजार घाइते हुने गरेको तथ्याङ्क उनले प्रस्तुत गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्