नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्बभन्दा बढी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ रु १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ ।

चालु आर्थिक वर्षको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आर्थिक वर्षको ११ महिनामा मात्र रु १ खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९.६८ र बाह्य ऋणको हिस्सा ५०.३२ प्रतिशत छ ।

त्यस्तै, बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई रु १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई रु १ खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । यसैगरी आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी रु ७ खर्ब ६४ अर्ब ९४ करोड बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व रु ४ खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व रु १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व रु १७ करोड र आईएमएफ बण्डको दायित्व रु ३ अर्ब ९१ करोड बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल रु ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण रु २ खर्ब ४० अर्ब र बाह्य ऋण रु २ खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ रु २ खर्ब २५ अर्ब र बाह्यतर्फ रु ८२ अर्ब ६७ करोड बराबर ऋण उठाइसकेको छ ।

यस्तै, वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७.९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३.७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ रु १५ अर्ब र बाह्यतर्फ रु १ खर्ब ३० अर्ब ७ करोड गरी कुल रु १ खर्ब ४५ अर्ब बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिएका छन् ।

चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा तिर्न रु २ खर्ब २५ अर्ब १७ करोड र ब्याज तिर्न रु १ खर्ब पाँच अर्ब ३८ करोड बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आर्थिक वर्षको १० महिनामा साँवातर्फ रु १ खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७.८३ प्रतिशत र बाह्यतर्फ रु ३१ अर्ब ५२ करोड अर्थात् ७०.९ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी रु २ खर्ब २७ अर्ब २० करोड र बाह्य ऋणको साँवा ब्याजमा रु ४३ अर्ब ९९ करोड बराबर खर्च भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्