पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या भएको पाइएको छ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या भएको पाइएको हो ।

विसं २०६० असोज ८ गते स्थापना भएको पुस्तकालय अहिले पनि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । पुस्तकालयले परिषद्को दुईवटा भवन भाडामा लिएर पाठकलाई सेवा दिइरहेको छ । दुवै भवन तोकिएको २५ प्रतिशतमात्र शुल्क तिर्नेगरी सम्झौता गरेर सञ्चालन भइरहेको छ । परिषद्ले हालै पुस्तकालयलाई पत्र लेखी दुई भवनको गरी वार्षिक रु छ लाख लिनुपर्ने भनी पत्राचार गरेको छ ।

अहिलेसम्मको यो रकम रु दुई करोड हुने भन्दै परिषद्ले पुस्तकालयलाई पत्राचार गरिसकेको छ । सम्झौता भएअनुसार पुस्तकालयले हाल मासिक रूपमा रु एक लाख ५० हजार भाडा परिषद्लाई तिरिरहेको महासचिव मुरारीविनोद पोखरेलले जानकारी दिए । पुस्तकालयमा लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थी एकान्त खोज्दै आएर अध्ययन गर्ने गरेका छन् । पुस्तकालयमा विभिन्न विषयगत विधाका गरी ६० हजार पुस्तक छन् । ब्रिटिस काउन्सिलले पुस्तकालयका लागि १० हजार पुस्तक प्रदान गरेको थियो ।

पुस्तकालयका लागि काठमाडौँ महानगरपालिकाले रु एक करोड बजेट दिने निर्णय गरेको छ । पुस्तकालयमा नौजना कर्मचारी र दुईजना स्वयंसेवीले काम गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७९-८० सम्म वार्षिक रु ५० लाख दिने गरेको थियो । आर्थिक वर्ष २०८०-८१ देखि भने रु पाँच लाख दिने भनी बजेट व्यवस्थापन गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्