काठमाडौँ । दोर्दी गाउँपालिका ३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिँधेरै जीवन बिताए । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिसिएको मकै, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायत खानेकुरा ढिकी-जाँतोमा कुट्ने र पिस्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आएका छन् ।
उनलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा सङ्घर्ष गरिएका ती दिन कथाजस्तै लाग्ने गरेको छ । ऊ बेला गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । तर त्यस बेला ठूलो महत्व रहेको ढिकीजाँतो केही वर्षदेखि हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई ढिकीजाँतो कुनै बेलाको कथाजस्तै हुने थालेको छ । सोही वडामा पर्ने श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिसेर जीवन बिताएका छन् । उनलाई नै यतिबेला विगतमा ढिकीजाँतोमा सङ्घर्ष गरिएका ती दिन कथाजस्तै लाग्न थालेको छ । अहिले वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँलगायत गाउँमा ढिकी जाँतो देख्नै नपाइने अवस्था आएको छ ।
सबै गाउँमा एक हजारभन्दा बढी घरपरिवार रहेकामा अहिले पाँच-दशवटा भन्दा धेरै घरमा ढिकीजाँतो छैन । ढिकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् । त्यस्तै, मस्र्याङ्दी गाउँपालिका ५ घेर्मुमा विगतमा घरैपिच्छे ढिकीजाँतो राखेर प्रयोग गर्दै आए पनि ३५ घरपरिवार रहेको यस गाउँमा अहिले एउटा मात्र ढिकी रहेको स्थानीय कामसार्की गुरुङ बताउँछन् । करिब १०–१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिकीजाँतो हराउँदै गएको उनको भनाइ छ । यसरी परम्परागत ढिकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिने अवस्थामा रहेको उनले जानकारी दिएका छन् ।
सोही गाउँपालिका वडा नं ३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्राय: सबै घरमा ढिकी जातो राखेर प्रयोग गर्दै आए पनि अहिले एक-दुई जनाको घरमा मात्र रहेको बताए । त्यस्तै, बेँसीसहर नगरपालिका-२ नरुवाल गाउँमा करिब १४ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै जाने क्रममा छ वर्षअघिबाट गाउँमा दुईजनाको घरमा मात्रै ढिकी-जाँतो रहेको स्थानीय सावित्री रानामगरले जनाएकी छिन् ।
उनले भनिन्, ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दु:खसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडेको उनी बताउँछिन् । विद्युतीय मिलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि त्यसको आधा पनि कुटी नसकिने त्यहाँका स्थानीयको भनाइ छ ।