‘देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी छ’ : मन्त्री खड्का

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताएका छन् । नेपालमा क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवको सोमबार यहाँ उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री खड्काले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको भन्दै क्यान्सरलाई कम गर्न देशभर यससम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उल्लेख गरेका छन् । क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काममा अर्बुद रोग निवारण संस्थाले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । मन्त्री खड्काले देशभरि क्यान्सरका बिरामीको उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन महत्वपूर्ण कार्य रहेको भन्दै प्रशंसासमेत गरेका छन् ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरका क्षेत्रमा संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने जनाए । संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गरेका छन् । उनले अर्बुद रोग संस्था क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने भन्दै उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको उनले जानकारी दिए ।

संस्थाका महासचिव दीपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखामा रहेका १५ हजारभन्दा बढी स्वयंसेवकले क्यान्सरबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए । आगामी दिनमा देशभर स्वयंसेवकमार्फत जनचेतना अभियान सञ्चालन गर्ने तयारी गरिरहेको उनको भनाइ छ । कार्यक्रममा क्यान्सरसम्बन्धी उपचारमा संलग्न नौ जना चिकित्सकलाई सम्मान गरिएको थियो । साथै, नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा प्रकाशित स्मारिका मन्त्री खड्काले विमोचन गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्