चितवन राष्ट्रिय निकुञ्जको ६७ वर्षको भाले हात्तीको सडकमै मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको ६७ वर्षको भाले हात्ती लम्बोदर प्रसादको सडकमै मृत्यु भएको छ । बटौली हात्तसारमा पालिएको लम्बोदर प्रसादको मंगलबार साँझ कालगतीले मृत्यु भएको निकुञ्जले बताएको हो ।

निकुञ्जमा चरेर हात्तीसारतर्फ आउँदै गर्दा हात्ती सडकमै ढलेको हो । जनकौली मध्यवर्ती सामुदायिक वन नजिकको सडकमा ढलेको हात्तीको शवलाई निकुञ्जले लगेको हो । पूजा र धुपबत्ती बालेर हात्तीको अन्त्येष्टि गरिएको छ ।

वन्यजन्तु अस्पताल सौराहाका प्रमुख डा।विजय श्रेष्ठका अनुसार यो हात्ती विगत ८ वर्षदेखि विरामी थियो । नवलपरासीको गिदेनी पोष्टमा छँदै विरामी भएको यो हात्तीलाई नियमित निगरानीमा राख्न भनि पाँच वर्ष अगाडि सौराहा ल्याइएको थियो ।

मंगलबार निकुञ्जमा जानु अघि भने हात्ती सामान्य अवस्थामै रहेको श्रेष्ठले बताए । सौराहामा आतंक मच्चाइरहेको मकुना हात्तीलाई छल्न बस्तीको बाटो हुँदै फर्किएको लम्बोदर प्रसाद अचानक सडकमा ढलेर प्राण त्याग गरेको हो । भाले हात्तीको औसत आयु ६५ देखि ७० वर्ष हुने चिकित्सकहरु बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्