यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डको भनाइ छ ।

गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको उनले बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ छ ।

हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महँगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको मन्त्री पाण्डेले जानकारी दिए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनले बताए । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्