काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताएका छन्। शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न ओलीले चुनौती दिएका छन् ।
उनले अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गरे। नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरे। देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले रहेको उनको भनाइ छ।